हुम्ला जिल्लाका पर्यटकीय स्थलको सम्बद्र्धन र प्रबद्र्धन गर्ने आधार बन्ने छ लिमी महोत्सव

पहिलो कुरा त हुम्ला नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू मध्येमा एक हो भनेर देश विदेशमा प्रचार प्रसार गर्न जरुरी भएको छ । दोश्रो कुरा त्यहाँको पुरानो कला र संस्कृतिको जगेर्ना गर्न । तेस्रो क्रसबोर्डर व्यापारका बारेमा छलफल यस महोत्सबको मूल उद्देश्य हो ।

कर्णाली प्रदेशको हुम्ला जिल्लाको पनि निकै दुर्गम नाम्खा गाउँपालिकामा आउँदो सेप्टेम्बर महिनाको ४ र ५ तारिख हुन लागेको लिमी महोत्सवको विविध पक्षबारे उक्त गाउँपालिकाका अध्यक्ष विष्ण बहादुर लामासँग पत्रकार धनन्जय बुढाले गर्नुभएको संवाद ।

 

महोत्सवको तयारी कहाँ पुग्यो ?

अबको १० दिनपछि हुने महोत्सबको लगभग ९० प्रतिशत जति तयारी पूरा भएको छ । अहिले म काठमाडौंमा छु । भोलि महोत्सब स्थलको लागि प्रस्थान गर्छु, सायद त्यहाँ पुग्न मलाई एक हप्ता वा कम्तिमा पनि ३÷४ दिन लाग्न सक्छ । म लिमी पुग्ने वित्तिकै सबै तयारी पूरा हुन्छ ।

 

यो महोत्सबको गर्नुको मुल उद्देश्य के हो ?

पहिलो कुरा त हुम्ला नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू मध्येमा एक हो भनेर देश विदेशमा प्रचार प्रसार गर्न जरुरी भएको छ । दोश्रो कुरा त्यहाँको पुरानो कला र संस्कृतिको जगेर्ना गर्न । तेस्रो क्रसबोर्डर व्यापारका बारेमा छलफल यस महोत्सबको मूल उद्देश्य हो ।

हुम्लालाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न भन्नु भयो के के छन् त्यहाँ  ?

मूलत : हुम्ला कैलास मानसरोबरको ‘गेटवोए’ (प्रवेशद्वार) हो । यसलाई राम्रोसँग प्रबद्र्धन गर्ने हो भने हुम्लालाई मात्रै नभई कर्णाली प्रदेशलाई नै टेवा पुग्छ भन्ने हो । त्यस्तै हुम्ला जिल्लाभरी अनेकौं पर्याटकीय स्थलहरू छन् । तिनको सम्बद्र्धन र प्रबद्र्धन गर्न हामी लागि परेका छौँ । त्यसैको महत्वपूर्ण कडिका रुपमा यो लिमी महोत्सवलाई मान्नु पर्छ । अहिलेलाई नाम्खाभित्र र यसको विषयमा कुरा गर्दा नेपालभित्रैको लिमी लाप्चाको सिमानामा बसेर पारिपट्टि कैलास मानसरोबरको दर्शन गर्न सकिन्छ । सबैले भिषा र टिकेट अनि अन्य खर्च नगरी कैलास मानसरोवरको दर्शन गर्न पाइन्छ । त्यसै गरी संसारमै लोपोन्मुख वनचांैरी, नेपालको अन्य कुनै पनि ठाउँमा नपाईने धेरै किसिमका चराचुरुङ्गी लगायत मनमोहक लिमी भ्याली, जसले इतिहासको कालखण्डमा धेरै विशेषता बोकेको छ । उता चीन सरकारले ‘दिन दुई गुणा र रात चौ गुणा’ विकास गरिरहँदा उता तिब्बतबाट हराइरहेको तिब्बतियन संस्कृति रहनसहन लिमीमा पाइने भएकाले पनि यसको महत्व अझै बढेको छ । जसलाई हमीले जगेर्ना गर्ने योजना बनाउनु पर्छ ।

 

क्रस बोर्डर ब्यापार बैठक भन्दै हुनुहुन्थ्यो त्यसबारे थप बताई दिनुस् न  ?

हो, यो महोत्सबको अर्को महत्वपूर्ण पाटो हो भन्ने लाग्छ, किनभने क्रस बोर्डर मिटिङ हामीले राख्दैछौं । जुन चाइनाको पुराङ काउन्टीका करिब १२जना प्रतिनिधीहरूसँग भेटघाट तथा बैठक गर्नेछौं । प्राचिनकालदेखि शुरु भएको तिब्बत र त्यो क्षेत्रका जनताबीचको नुन र अन्नको व्यापारले बनाएको सम्बन्धलाई आजको समयमा आइपुग्दा हामीले उच्च विज्ञान प्रविधिको ब्यापारसम्म विस्तार र विकास गर्न सक्नु पर्छ भन्ने हो ।

त्यस्तो वार्ता बैठक त केन्द्रीयस्तरमा हुनु पर्ने होला नि  ?

हो, तपाईँको कुरा ठिक हो । केन्द्र सरकारले गर्नुपर्ने काम पनि छ, जस्तै भन्सार र क्वारेन्टाइनको व्यवस्थाविना हामीले हाम्रो सामान निर्यात गर्न सक्दैनौं । त्यसको निम्ति पनि सरकारलाई झक्झक्याउन पनि यो मिटिङले राम्रो भूमिका खेल्नेछ भन्ने विश्वास लिएका छौं । यो स्थानीयस्तरमा छलफल गरेर केही उपाय निकाल्ने भन्ने नै हो । गत साल पनि हिल्सामा चिनियाँ प्रतिनिधीहरूसँग परिचयात्मक कार्यक्रम राखेका थियौँ । यो वार्ताले स्थानीयस्तरमा सम्बन्ध अझै विकास गर्ने विश्वास लिएका छौं ।

 

के के वस्तु/सामाग्री यताबाट निर्यात गर्ने र उताबाट के के कुरा आयातको सम्भावना छ  ?

हिजोका दिनमा हामीले तिब्बतियनहरूलाई प्रशस्त मात्रामा अन्न दिने र हामीले त्यससँग नुन साट्ने गथ्र्यौ तर, अहिले उता कृषि क्षेत्रमा उनीहरूले अद्भुत विकास गरेकाले पहिले जस्तो धेरै सम्भावना न भए पनि उनिहरू हामीलाई विविध क्षेत्रमा सहयोग गर्न चाहन्छन् साथै हामीले नि हाम्रो ठाउँमा फल्ने आलु, फापर र जडीबुटी तथा फलफुल उतातिर निर्यात गर्न भन्सार र क्वारेन्टाइन विना उनीहरूले नलिने हुँदा त्यसको स्थापना केन्द्र सरकारले जति सक्दो छिटो गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

सिंहदरबारको अधिकार गाउँ गाउँमा आयो भन्दै चुनाव जित्नुभयो फेरि काठमाडौं किन धाईरहनु भएको छ ?

हो त्यो हाम्रो बाध्यता हो । देशमा नयाँ प्रणाली कार्यान्वयन भएको र त्यसको अभ्यास गर्न थालेको धेरै भएको छैन । राज्यले धेरै कामहरू विशेष गरेर भौतिक पूर्वाधर, जनशक्ति व्यवस्थापन लगायतका महत्वपूर्ण कार्यहरू गर्न अझै धेरै बाँकी भएकाले प्रदेश तथा केन्द्रीय राजधानीमा समेत हामीहरूले चाँजोपाँजो मिलाउन धाउनु पर्ने बाध्यता बनेको छ ।