विप्लव नेतृत्व नेकपाले उठाएका मुद्धालाई राजनीतिक रुपले हल गरिनु पर्छ : नेकपाका केस भण्डारी (प्रतिरोध)

हाम्रो जिल्लाको यारीमा बन्ने भनेको सुक्खा बन्दरगाहले पूर्वाधारको विकासको अभावको कारण तत्काल देश र जिल्लावासीले लाभ लिन नसके पनि यो दीर्घकालिन हिसाबले निकै महत्वपूर्ण सम्झौता भएको छ । सँगै हुम्ला सामरिक हिसाबले अलिक सम्वेदनशील छ ।

(नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यमध्ये सबैभन्दा कान्छा केन्द्रीय सदस्य विजय भण्डारी (प्रतिरोध) जो १३/१४ वर्षको कलिलो उमेरदेखि नेपालको इतिसमा एक उथलपुथलकारी दश वर्षे जनयुद्धमा सामेल भएका थिए । हुम्ला जिल्लाको ठेहेमा जन्मिएका केन्द्रीय सदस्यसँग धनन्जय बुढाले समसामयिक सन्दर्भका बारेमा गर्नुभएको संवाद ।)

 

३० भदौ ।।

पहिलो र तेस्रो ठूलो पार्टीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्य बन्नु भयो ? कस्तो अनुभूति भइरहेको छ ?

निकै नै खुशि लागेको छ, १३/१४ वर्षको उमेरदेखि अहिलेसम्म निरन्तर रुपमा पार्टी आन्दोलन र क्रान्तिप्रति बफादार भएर लागिरहेको छु । पार्टीले दिएका हरेक जिम्मेवारीहरूलाई इमान्दारितापूर्वक बहन गर्दै आएको छु । अहिले एकीकृत पार्टीले विश्वास गरेर केन्द्रीय सदस्य चुनेकाले अझै बढी जिम्मेवारी थपिएको महसुस भएको छ । तर, यो मेरो अन्तिम गन्तव्य भने पक्कै पनि होइन । बरु यो एउटा बाटो हो, जहाँबाट हामीले हिजो जनयुद्धमा जनताका सामु खाएका कसमहरू र क्रान्तिको बाँकी कार्यभार  पुरा गर्नुछ । हाम्रो पार्टी नेतृत्वको सरकारले देशमा “राजनीतिक स्थायित्व सहितको समृद्ध र स्वाधीन राष्ट्र निर्माण”को लागि महाअभियानको उद्घोष गरेको छ र त्यस कार्यको सफलता र जनताको थप सेवा गर्ने अवसरका रुपमा बुझेको छु ।

 

जन्मथलो हुम्लाबाटै जनयुद्धमा सामेल हुनुभयो ? आज यो उचाइ चुम्नु भएको छ, पछाडि फर्केर हेर्दा कस्तो लाग्ने गर्छ ?

जनयुद्धकालीन राजनीतिक पृष्ठभूमीतिर फर्केर हेर्ने हो भने हामीले विगतमा जीवनमरणको लडाईँ लड्यौं । खुकुरीको धारमाथि टेकेर यहाँसम्म पुग्यौं । हिजोलाई नियालेर हेर्दा हामी आज नाफाको जिन्दगीमा राजनीति गरिहेका छौं । शान्ति प्रक्रियापछि पनि जिल्लाको नेतृत्व गर्ने अवसर प्राप्त गरें, तर विगतका केही दशकदेखि जिल्लामा अन्य : पार्टी विशेष गरेर नेपाली कांग्रेसले मुख्य प्रशासनिक केन्द्र कब्जा गरी बसेकाले केही बर्ष हाम्रा लागि क्रान्तिको समयभन्दा फरक रहेन । हामीले हाम्रो राजनीतिक अस्तित्व स्थापित गर्न निकै कठिन भएको थियो ।

 

शान्तिकालमा पनि युद्धकाल जस्तै किन त ?

हामीले विगतमा देशको ८० प्रतिशत भूभाग हाम्रो जनसत्ताले नियन्त्रणमा लिएको र बाँकी शहर र सदरमुकामको २० प्रतिशत भाग मात्र राज्यको नियन्त्रणमा रहेको कुरा इतिहास साक्षी नै छ । त्यस्तै तत्कालिन पुराना संसदीय राजनीतिक दलहरूलाई हाम्रो अस्तित्व स्वीकार्य थिएन । बरु कसरी हुन्छ तत्कालिन माओवादीमाथि निषेधको राजनीति लाद्ने उनिहरूको रणनीति कायम थियो । त्यस्तै हाम्रो जिल्लामा पनि कयौं साथिहरूलाई झुट्टा मुद्धा लगाएर जेलमा कोच्ने, भिडन्त चलिरहने, वर्षको २÷३ पल्ट आन्दोलन् र कफ्र्यु खेप्नु परेको थियो, तर जब हामीले २०६४को संविधान सभाको पहिलो चुनाबमा जनमतद्वारा प्रमाणित गर्न सफल भयौं । तब मात्रै लामो राजनीतिक रुपमा सास फेर्न पायौं र अहिले त हामी दुई वामशतिmको अभूतपूर्व एकता पश्चात हामी फेरी नयाँ राजनीतिक अवस्थामा पुगेका छांै भन्ने लाग्छ ।

 

जिल्लामा तपाईको नेतृत्वलाई चुनौति कुन पार्टीले दिएको हो ?

विशेषत हुम्लाको परिवेशमा नेपाली कांगे्रसले नै विगत करिब दुई दशकदेखि राज्य, सत्ता र शक्तिको दुरुपयोग गरेर आफ्नो वर्चस्व कायम गरेको अवस्था थियो । हामी खुल्ला राजनीतिमा आएपछि उनिहरूले हर तरिकाले माओवादीको अस्तित्वलाई विस्थापित गर्ने प्रयत्नमा लागेको इतिहास छ । मुलतः उनीहरूको बुझाई भनेको “माओवादीहरू जङ्गलबाट आएका हुन् । नेपाली कांग्रेसको एकल राज्य माथि धावा बोल्न आएका हुन्” भन्ने सङ्कीर्णताको परिणाम हामीले बारम्बार भिडन्त र द्वन्द्व खेप्नु परेको थियो तर जब हामीले जनतामार्फत् आफ्नो जनमत स्थापित ग¥यौं । तब उनीहरूले आफूलाई बदल्दै गए र अहिले सहज र राजनीतिक सह–अस्तित्वको वातावरण कायम भएको छ ।

 

हिजो नेपाली कांग्रेस जहाँ थियो आज त्यो ठाउँमा केन्द्रदेखि स्थानीय तहसम्म तपाईहरू हुनुहुन्छ, तर पनि जनताले तात्विक भिन्नता महसुस गर्न सकेका छैनन् नि किन ?

परिवर्तन र विकास आजको भोलि नै या क्षणभर मै हुनेभन्दा विस्तारै हुने हो । मेरो बुझाईमा मुलत दुई किसिमले यो प्रक्रिया हुने गर्छ । पहिलो सामान्य समाज विकास र रुपान्तरण प्रक्रिया अनुसार हुने गर्छ । दोस्रो हामी मानिसको सचेत पहलकदमीद्वारा । हामीले दश वर्षे जनयुद्ध मार्फत राजनीतिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका निम्ति ग¥यौं । भलै हामीले जनअपेक्षा र बलिदान गरे अनुसारको क्रान्तिकारी परिवर्तन गर्न सकेनौं ? हामीले त्यसलाई स्वीकार गरेका छौं तर, हाम्रा विरोधिहरूले भने जस्तै, हामीले केही नगरेको भन्ने गलत आरोपको खण्डन गर्न चाहन्छु किनभने राष्ट्रिय राजनीतिको कोणबाट हेर्ने हो भने अभूतपूर्व काम गरेका छौं । देशमा गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता मार्फत केन्द्रको शक्तिलाई स्थानीय तहसम्म विकेन्द्रीकृत गरेका छौं, घरदैलोमा पु–याएका छौं । अनि हाम्रो हुम्लालाई उदाहरणको रुपमा लिँदा पनि हिजो सामन्तहरू, जिम्मुवालहरू र मुखियाहरूको अधिनमा समाज हुने गर्दथ्यो । उनीहरूको स्वेक्षाचारिताको अगाडि जनता चुँ पनि गर्न सक्दैन थिए तर, हेर्नुस् त अहिले दलित, महिला, होचा–निमुखा जनता कति निडर र स्वतन्त्र भएर अन्याय विरुद्ध आवाजहरू मुखरित गर्छन् र आफ्नो हकअधिकारका लागि लड्ने आँट गर्दछन् । यसरी हिजोको र आजको समाजमा आकाश पातलको फरक छ । त्यो सबै हाम्रो सचेत पहल अथवा जनयुद्धले दिएको उपलब्धि हो । रह्यो कुरा भौतिक विकासको, त्यो पनि हिजोकोभन्दा रफ्तारमा गइरहेकोछ । फेरि सरकार अहिले सङ्घीयतालाई संस्थागत गर्न बढी ध्यानमा छ ।

 

त्यति ठूलो उत्साह र जोशका साथ २०६४को संविधान सभाको चुनाबमा तपाईकै पार्टीको जननप्रतिनिधिले जितेको ७०सालमा क्रमभङ्गता किन भयो त ?

हो २०६४को पहिलो संविधान सभा चुनावमा जनयुद्धको रापताप र पार्टीको निर्णय कार्यान्वयनमा देश भरिको सिङ्गो पार्टी–पङ्ती एकजुट भएर जनतासँगै जुरुक्क उठ्यो र हाम्रो जिल्लामा पनि सुशिलजी विशाल मत अन्तरले विजयी हुनुभयो । हाम्रो गौरवमय र महान् पार्टीले झण्डै बहुमत नै ल्याएर देशमा सबैभन्दा ठूलो पार्टीका रुपमा अगाडि आएको थियो तर, २०७०को दोस्रो संविधानसभा चुनावमा भने हाम्रो जिल्लामा मात्रै नभएर तत्कालिन नेकपा(माओवादी) पार्टीले देशैभरबाट लज्जास्पद हार बेहोर्दै पहिलोबाट तेस्रो दल हुनपुग्यो ।

 

यस्तो हुनुको मूल कारण ?

पहिलो संविधानसभाको चुनाब अनि सरकार निमार्णको समयदेखि नै पार्टीमा दुई लाइन संघर्ष मौलाउँदै गएको थियो । पछिल्लो समयमा जनमुक्ति सेना लगायतका विषय तथा विभिन्न विषयमा कडा वैचारिक संघर्ष चर्किएसँगै विभाजन भएर क्रमभंगता आयो । एउटा यथास्थितिमा (प्रचण्ड कमरेड नेतृत्व माओवादी) र अर्को (वैद्य कमरेड नेतृत्व माओवादी)मा देशभर क्रान्तिकारी स्पिरिटकासाथ बहिष्कारमा उत्रियौं । जसको परिणाम ७०को चुनाबमा हामी हाम्रो जिल्लामा वहिष्कार सफल पार्नतिर लाग्यौं । त्यसकारण त्यो जीतहारसँग हामीलाई कुनै मतलवभन्दा पार्टीको निर्णय कार्यान्वयनको कुरा प्रधान भयो भने अरु कुरा गौंण ।

 

उसो भए त अहिले तपाई लगायतका साथीहरू यथास्थितिमा नै फर्कनु भए छ नि ?

पृथ्वी गोलो छ, समय परिवर्तनशील छ, डाइनोसरहरू लगायतका ठूला जनावरहरू समय अनुकुल आफूलाई बदल्न नसक्दा ति लोप हुँदै गएको प्राकृतिक इतिहास छ । ठीक त्यसरी नै तत्कालिन वैद्य कमरेड नेतृत्वले जनयुद्धका मुल्य मान्यता र आदर्शलाई बचाउने रटान मात्रै लगाउनु भयो तर उहाँहरू समय अनुसार आफूलाई व्यावहारिक रुपमा रुपान्तरण र विकास गर्न सक्नु भएन । जसको परिणाम तपाईले अहिले उहाँहरूको अवस्था देखिरहनु भएको छ तर हामीले मुलधारमा फर्किए लगत्तै स्थानीय, प्रदेश र केन्द्र चुनाबमा माओवादीको स्थितिलाई व्यापकरुपले सुधारेनौं मात्र अझ एमालेसंग एकता गरेर राजनीतिक स्थायित्व र जनताका निम्ति अभुतपूर्व कदम चाल्न सफल भएका छौं । हाम्रो जिल्लाको हकमा चार ठाउँमा माओवादी एक ठाउँ तत्कालिन एमाले दुई ठाउँमा कांग्रेसले नेतृत्व गरेको छ ।

 

तपाई क्रान्तिकारी स्प्रिड समातेर बसेको मान्छे ? गलत भनेको पुरानो बाटोको के कुरामा सहमत भएर फर्किनु भयो त ?

यसमा अघि पनि भने मैले यताको भन्दा वैद्य कमरेडहरूले समय अनुकूल नीति तथा कार्यक्रमहरू ल्याउन र सङ्गठनलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न नसक्दा उधोगतिभन्दा पनि अझ उधोगतितिर पार्टी सङ्गठन भएपछि बरु पुरानै घरतिर फर्किदा क्रान्तिको बाँकी कार्यभार नयाँ तरिकाले यतैबाट सम्पन्न हुने कुरामा विश्वस्त भइयो ।

अर्को खास कुरा भनेको विश्व राजनीतिक परिवेश भनेको साना साना खुद्रा पसल र नाङ्ला थापेर मालिक हुने प्रचलनभन्दा सुपरमार्केटको जमाना हो । जहाँ ध्रुविकरण–एकता–संघर्ष र रूपान्तरण हो । किनभने नेपाली भूमिमा भएको जनयुद्ध रामायण र महाभारतको कथा जस्तो होइन ? हामी आफै सामेल भएको प्रत्यक्ष लडार्इँ हो । त्यसको सफलता, क्षति या के फाइदा के बेफाइदा भयो ? सबै कुराको भुक्तभोगी हामी आफैँ भएकाले कसैका मिठा कुराले पछि दौडनेभन्दा समयको माग अनुसार हिंडेका हौं । अहिले एमाले र माओवादी ठूलो पार्टी हुन् एकता भएका होइनन् । यदि त्यसो हो भने सबैभन्दा ठूलो त एमाले छँदै थियो नि ? त्यसकारण यो एकता देशलाई राजनीतिक स्थायित्व र समृद्धिको निम्ति भएको हो । यही कुरामा हामी सहमत भएर आज यो पोजिसनमा छौं ।

 

तपाईले एकताको जोडदार आधारको कुरा गर्दै गर्दा तपाईको जिल्लामा पनि यस विषयमा विवाद देखिएको छ भन्छन् नि ?

हाम्रो एउटा स्थानीय उखान छ, “जति भाँडा उत्ति चुर्का, नाई भाँडा नाइँ चुर्का” भने जस्तै । अहिले खासमा नेकपा हुम्ला जिल्ला नेतृत्व सम्बन्धी जुन विवाद छ भन्ने छ त्यो गलत छ, किनभने अहिलेको नेतृत्व चयनको कुरा जुन छ । पहिलो कुरा त अहिले कुनै सम्मेलन अधिवेसनले चयन गर्नेभन्दा पार्टी एकताको भाव मार्फत नै हुने हो र अहिले जिल्लामा डा.दीपेन्द्र रोकाया र लालकेश जैशी दुईजना मात्रै होइनन् ? अरु पनि सम्भावित नेतृत्वका उम्मेद्वार धेरै छन् । कुरा के मात्रै हो भने अहिले उहाँहरू दुई जनाको आकाङ्क्षा बाहिर सार्वजनिक भएको हो । साथीहरूको हिजोदेखि त्याग, तपस्या र लगानी छ र नेतृत्व हुनसक्ने योग्यता पनि छ । यसरी आकाङ्क्षा राख्नुलाई विवादभन्दा म स्वभाविक ठान्छु । यो कुरा त पार्टीलाई जीवन्त राख्ने उर्जा पनि हो नि हैन र ?

 

उसो भए के दुईजनाभन्दा बाहिरबाट पनि अध्यक्ष हुने सम्भावना छ र ?

अहिले दुईजनाको आकाङ्क्षा बाहिर आएको हो । उहाँहरूको बराबर पार्टीमा लगानी र योगदान गरेका साथीहरू अरु धेरै छन् । जसले आन्तरिक रुपमा नेतृत्वको दावी गरिरहनु भएको छ । त्यसलाई पनि हामीले अस्वभाविक मानेका छैनौं । त्यसैले म पूर्ण विश्वस्त छु कि अब छिट्टै केही दिनभित्र स्वभाविक रुपमा नै नेतृत्व चयनको प्रक्रिया टुङ्गिने छ ।

 

मुख्य दुई जना आकाङ्क्षी  छन् । तपाईहरू पनि पक्ष विपक्षमा रहनु भएको छ केन्द्रमा पनि नेताहरूका घरदैलोमा दौडधुप पनि चलेको भन्ने सुनिन्छ नि ?

कसले कहाँ के गरिरहेको छ त्यो गौंण कुरा हो । मेरो विचारमा त्यस्तो कुराले खासै अर्थ राख्दैन । अधिवेशन नहुन्जेलसम्मको लागि एकता भाव दिन पार्टीलाई बढी प्रभावकारी र उपयुक्त पात्रलाई पार्टीले नेतृत्व चयन गर्ने हो । फेरि नेतृत्व भनेको अध्यक्ष पद मात्रै होइन आकाङ्क्षी साथीहरूले विभिन्न कार्य विभाजन अनुसार विभिन्न जिम्मेवारमा जानुहुन्छ र पाउनुहुन्छ ।

 

तपाईको समर्थन कतातिर या तटस्थ बस्नु हुन्छ ?

मैले कता समर्थन गर्नेभन्दा पनि मुल कुरा पार्टीको हो । हामी एकता प्रक्रियामा छौं । यस प्रक्रियालाई जिल्ला हुँदै इकाई सेलसम्म लग्नु पर्ने छ । त्यसैले म एकजनाले के गर्नेभन्दा पनि समग्र पार्टी योजना कार्यक्रम अनुसार कसलाई अगाडि बढाउँदा सही हुन्छ, त्यो महत्वपूर्ण हो । यसो भन्नुको मतलब मेरो कुनै मत छैन भन्ने पनि होइन तर त्योभन्दा पार्टीको निर्देशन महत्वपूर्ण हुन्छ र छ पनि ।

 

सुनिंदैछ कि तपाईहरूले समेट्न नसकेका सहकर्मीहरू अन्य पार्टीमा जाने तयारीमा छन् भन्ने आएको छ नि ?

‘पानीलाई धमिलो बनाएर ढडिया थापेर माछा मार्न’ कोही पक्कै बसेका पनि होलान् । हाम्रोमा केही असन्तुष्ट भएर विभाजन भएर आफ्नोतिर आउनेछन् भन्ने कसैको मन्सुवा होलान् जुन “मनको लड्डु घ्यूसँग खानु” जस्तै बाहेक अन्तत केही पनि हुनेवाला छैन ।

 

हुम्ला जिल्लाको माओवादी राजनीतिक इतिहासमा तपाईहरू विगतदेखि अहिलेसम्म जति विभाजन भए पनि एक अर्कामा सौहार्दता र हार्दिकता नै रहेको विगत छ, तर अब के हुन्छ ?

अब पनि एकदम हार्दिकताले निरन्तरता पाउने देख्छु । हिजो माओवादी मात्र एकजुट भएका थिएनौं तत्कालिन एमाले लगायतका वामपन्थी शक्तिहरू एकजुट भएका थियौं । हाम्रो जिल्लाको हकमा हिजोदेखि नेपाली कांग्रेससँग हाम्रो सङ्घर्ष हो । अब पनि फेरि लडाई त्यतै तेर्सिनेवाला छ । शुशिल कमरे हामीभन्दा टाढिनु भएको छ । जहाँसम्म उहाँले आगामी राजनीतिक लगायतका अन्य कठिन परिस्थितीहरूमा आफ्नो पोजिसन प्रगतिशील, वामपन्थी शक्तितिरै क्लियर गर्नु हुनेछ, किनभने उहाँलाई हामीले हिजो नेता मानेको हो भोलि पनि मान्न तयार भएकै हो ।

 

नेपाल सरकारले भर्खरै मात्र चीन सरकारसँग पारवाहन सम्झौता गरेको छ ? त्यसमध्ये तपार्ईँको जिल्लाको यारी नाकामा पनि सुक्खा बन्दरगाह बन्ने भएको छ ? यसलाई कसरी लिनु भएको छ ?

यो सम्झौता नेपालको निम्ति निकै नै महत्वपूर्ण छ, किनभने यसले शदियौंदेखि भारतसँगको एकल निर्भरतालाई विकल्प दिएको छ । अर्को हिसाबले भन्ने हो भने भारतसँगको एकाधिकारलाई तोड्न सफल भएको छ । त्यस्तै हाम्रो जिल्लाको यारीमा बन्ने भनेको सुक्खा बन्दरगाहले पूर्वाधारको विकासको अभावको कारण तत्काल देश र जिल्लावासीले लाभ लिन नसके पनि यो दीर्घकालिन हिसाबले निकै महत्वपूर्ण सम्झौता भएको छ । सँगै हुम्ला सामरिक हिसाबले अलिक सम्वेदनशील छ । त्यता पनि सर्तक हुँदै काम कारबाही अगाडि बढाउनु पर्छ ।

 

अझै पनि हुम्ला र डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेका छैनन् ? के छ तपाईको सरकारको योजना ?

हो हामी यस कुराप्रति निकै चनाखो भएर लागिरहेका छौं । सम्बन्धित निकाय र सरकारलाई छिटोभन्दा छिटो सडक निर्माणका लागि दवाब दिइरहेका छौं । त्यसैको परिणामस्वरुप अहिले सरकारले नेपाली सेनाको विकास कार्यदललाई खटाएको छ । जसले निकै दु्रत गतिमा बाटो खन्ने, चट्टान फुटाउने कार्य गरिरहेको छ । सायद अबको दुई वर्षमा त्यो कार्य सम्पन्न हुन्छ ।

 

राष्ट्रिय राजनीतिको कुरा गरौं ? तपाईँको पार्टी नेतृत्व सरकारको चौतर्फी आलोचना भइरहेको छ नि ?

पहिलो कुरा, हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायीत्व र समृद्धिका निम्ति नीति तथा कार्यक्रमहरूलाई अगाडि बढाइरहेको छ । त्यसबाट प्रतिपक्ष दलहरू अत्तालिएर त्यसलाई भोलिको आफ्नो राजनीतिक अस्तित्व संकटको रुपमा लिएका कारण सानातिना कुरामा पनि आलोचना गर्न थालेका छन् ।

दोस्रो कुरा भनेको, सत्ता बाहिर रहेका दलहरूसँग न कुनै विशेष एजेण्डा छन् न त सरकार विरुद्ध खनिने कुनै बलियो आधार नै ? त्यसैले उनीहरू तिललाई पनि पहाड बनाएर या कुनै ‘गोविन्द केसी’ जस्ता सामाजिक अभियानताको एजेण्डामा सिङ्गो पार्टी आन्दोलित हुन्छ ।

तेस्रो कुरा भनेको, पहिलाका सरकारहरूको तुलनामा जनताले बढी आशा र अपेक्षा राखेका छन् र त्यो सरकारले पूरा गर्न नसकिरहेको हुँदा पनि सरकारमाथि प्रहार भइरहेको हो भन्ने मेरो बुझाई हो ।  शान्ति प्रक्रिया, संविधानसभा मार्फत नयाँ संविधान हुँदै पार्टी एकता र अहिलेको बहुमतिय सरकार बन्दासम्मको यो आफ्नै मौलिकतामा आधारित यो समीकरणप्रति देशी विदेशी शक्ति चिन्तित छन् । त्यसकारण पनि सरकारका सामान्य कमीकमजोरी र अनावश्यक कुरामा बखेडा झिकेका हुन् । यस्ता विषयले खासै असर भने गर्दैन । ति सबै असफल प्रयासमा सीमित हुनेछन् ।

 

अब यो पार्टी एकता धेरै टिक्दैन भन्छन् नि ?

यो एकता दीर्घकालीन रुपमा नै अघि बढ्छ र एकतामा विचार सिद्धान्त मिल्ने शक्तिहरू आउँछन् । विचार सिद्धान्त नमिले पनि राष्ट्रिय एजेण्डा कार्यक्रम मिल्ने शक्तिहरू ध्रुवीकरणमा आउँछन् । त्यसकारण यो एकता टुट्नेभन्दा झन् बलियो हुँदै नेकपा नेतृत्वको वर्तमान सरकार पाँच वर्षमात्रै नभएर कम्तिमा पनि दश वर्षसम्म जमेर जान्छ ।

 

हिजोका तपाईहरूकै सहकर्मी विप्लव नेतृत्व नेकपाप्रति कम्युनिष्ट सरकार किन आक्रामक ?

तपाई हामीले राज्यसत्ता बुझेका छौं कि सत्ताले शान्ति सुरक्षा मार्फत देशको सम्पूर्ण अवयव आफ्नो काबुमा राख्ने कोशिस गर्छ । त्यसै अन्र्तगत अहिले सरकारले आफ्नो कामकारवाहीलाई निरन्तरता दिएको छ तर सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका देशमा भएका विभिन्न शक्तिहरूलाई दुई भागमा विभाजन गरिनु पर्छ । वाह्य शक्ति या कुनै सङ्गठनको आडमा देशमा अपराधिक गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही अगाडि बढाउनु पर्छ त्यो ठिक छ । कतिपयले देश टुक्राउनु पर्छ भनिरहेका छन् त्यस्तालाई उन्मुक्ति दिनु हुन्न तर, राजनीतिक रुपबाट आएका कुरालाई राजनीतिक रुपमा नै व्यवहार गरिनु पर्छ । नत्र भोलि देश नै अप्ठ्यारोमा फस्ने सम्भावना हुन्छ, किनभने हामीले वास्तविक क्रान्तिकारी कम्युनिष्ट शक्तिलाई पनि राम्रोसँग बुझेका छौं । त्यसैले हाम्रो पार्टी नेतृत्वको सरकारले बेलैमा नेकपाले उठाएका मुद्धाहरूलाई राजनीतिक तबरबाटै समस्याको हल गर्न पहल गर्नु पर्छ भन्ने मेरो धारणा छ ।

 

अन्त्यमा अरु केही भन्नु छ कि ?

अन्त्यमा मेरा विचारहरूलाई बाहिर ल्याउन मद्दत गर्ने तपाईँहरू जस्ता मिडियाकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद छ । मलाई साथ सहयोग र शुभेक्षा राख्ने नेता गण तथा आम हुम्लीवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

अनलाइन डबलीबाट |