विकिलिक्सका प्रधान सम्पादकमा ह्राफसोन नियुक्त, असान्जको संचार विच्छेद

१२ असोज, लन्डन ।। अमेरिकी सरकारको सर्वाधिक खोजीमा रहेका जुलियन असान्ज संस्थापक रहेको विकिलिक्सको प्रधान सम्पादकमा क्रिस्टिन ह्राफसोन नियुक्त भएका छन् ।

विकिलिक्सको प्रवक्ता रहिसकेका ह्राफसोनलाई प्रधान सम्पादक नियुक्त गर्नुको कारण भने स्पष्ट भएको छैन ।

विभिन्न स्रोतबाट सूचना लिएर त्यसलाई इन्टरनेट मार्फत सार्वजनिक गरी विश्वचर्चित भएका विकिलिक्सका ४७ वर्षीय संस्थापक जुलियन असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासमा केही वर्षदेखि शरण लिएर बसिरहेका छन् ।

विकिलिक्सले असान्ज नै समूहको प्रकाशक हुने जनाएको छ । इक्वेडरमा नयाँ राष्ट्रपति चुनिएलगत्तै असान्जको सञ्चार सम्पर्क मार्चदेखि विच्छेद गरिएको छ । विकिलिक्सको बुधबारको वक्तव्यमा असान्जले आफू सञ्चार सम्पर्कविहीन भएको बताएका छन् ।

असान्जले यसअघि समूहको प्रवक्ता, प्रकाशक र सम्पादक स्वयँ आफू रहेको बताउँदै आएका थिए ।

ह्राफसोनले आफूमाथि आएको नयाँ जिम्मेवारी स्थायी वा अस्थायी के हो भन्ने अझै थाहा हुन नसकेको प्रतिक्रिया दिएका छन् ।