कर्णालीलाई विकट भनेर हल्ला फिँजाएकाले कर्मचारी आउनै मानेनन् : मुख्यमन्त्री शाही

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहिलेको केन्द्रीकृत सत्ताले विकट भनेर अनावश्यक हल्ला फैलाएका कारण अहिले कर्णालीमा कर्मचारी आउन नमानिरहेको बताएका छन्।

जनता टेलीभिजनको कर्णाली प्रदेशस्तरीय कार्यालय स्थापना उद्दघाटन कार्यक्रममा बोल्दै शाहीले यस्तो कर्मचारीको अभावमा कर्णाली प्रदेश सरकारको काम कारवाही प्रभावित भएको पनि बताए। केन्द्र सरकारले कुनै कर्मचारीलाई सजाय दिनको लागि कर्मचारी कर्णालीमा पठाउने गरेको भन्दै वहाले बरु कर्मचारीलाई प्राकृतिक सौन्दर्य हेर्न अनुभव गर्न र यहाँको धरातलसँग परिचित गराउनको कर्णालीमा आउनका लागि आग्रह गरे।

पूर्खाको पालामा भगवानहरुको वासस्थान भएको स्वर्गीय धर्ती कर्णालीलाई अहिले कर्मचारीलाई दण्ड दिने नर्क बनाइएको भन्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले कर्णालीको परिचय बदल्न लागिपरेको बताए।

शाहीले सुनको व्यापार गर्ने र चरेशको थालमा मार्सी धानको भात खाने कर्णालीबासीलाई गरिब र विकटको बिल्ला भिराएकोले अहिले काम गर्न अप्ठेरो भएको शाहीको भनाई छ। ‘कर्णालीका जडिबुटीको महत्व संसारकै अमूल्य छ। यो सबैलाई थाहा छ,’ उनले भने, ‘कर्णालीका हिमाल र पहाडबाट बगेर आउने पानी जडीबुटी मिसिएको मिनररल वाटर भन्दा शुद्ध छ। यस्तो प्रदेश कसरी गरिब हुन्छ?’ उनले थपे, ‘कर्णालीका खच्चड र गाई भैंसीले मिनरल वाटर खाइरहेका छन्।‘ विभिन्न एनजिओ र आइएनजिओले माग्नकै लागि र आफ्नो खल्ती भर्नकै लागि कर्णालीलाई गरिब र विकटको बिल्ला भिराएको शाहीको आरोप छ।

कर्णाली प्रदेश सरकारले कर्णालीलाई लगाइएको गरिब र विकटको बिल्ला हटाउनका लागि काम गरिरहेको शाहीले बताए। कर्णालीका जनताले चिया र गाडी भाडा काठमाडौंमा गएर माग्ने गरेको भनेर भन्ने गरिएको भन्दै मुख्यमन्त्री शाहीले  भने, ‘मेहनत गरे कर्णालीका जनताले देशकै मान्छेलाई चिया र गाडी भाडा मात्र होइन खाना र प्लेन टिकट दिन सक्छन्।’

मुख्यमन्त्री शाहीले कर्णालीका जनतालाई विकासमा लाग्नको लागि ज्ञान र जनचेतना दिन मिडियासँग आग्रह पनि गरे।

थाहा खबरबाट