विद्रोही

 

जनक महतारा संकेत

जिउदै खातिएका लाशको थुप्रोबाट

शिर ठाडोपारी फुत्त निस्केर

कोहि मुर्दाघर त्यागेको घोषणा गर्छ भने

सम्झनुहोस,

त्यो खुंखार विद्रोही हो

 

खियाको सम्राज्यले

भुत्ते बनाएको तरबारको धारमा

स्पातिलो पाइन भर्नकै लागि

चौडा समातेर

आरनमा कोहि खलाँती फुक्दैछ भने

त्यो पनि खुंखार विद्रोही हो

 

देशको सत्ताको आँखाले कहिल्यै नदेखेका

ऊ त्यो पहाडी गाउँमा

भोकको महाभारत बिरुद्ध

कसैले दमाहा बजायो भने

सम्झनुहोस,

त्यो दमाहाबाट निक्लेको

ट्याउँ ट्याउँ आवाज पनि

विद्रोहीको मुखबाट निस्केको जस्तै

खत्तरानाक हुन्छ

 

जति बोलेपनी सुन्दै नसुन्ने

कीट जमेर बसेको सत्ताको कान खुलाउनकै लागि

चिटिक्क सिंगारिएकी सगाईकी दुलही जस्तै

कोहि मोविल दलेर कार्तुसको नाल सिंगार्दैछ भने

त्यो पनि खुंखार विद्रोही हो

 

बर्षौदेखि ईश्वर मानेर पुँजीरहेको

आफ्नै खोपाको ढुङ्गोलाई

छिमेकीको दाह्राले चपाईपाएको

सिमानाको टिठलाग्दो पिलर जस्तै

निर्जीव र प्राणहिन देखेपछी

ढुङ्गो पुँज्ने कर्मबाट अलग्गिएर

कोहि भक्तजन पाखुरा सुर्किदै

बारुद पिस्ने प्रमिथसहरुको

लामो पंक्तिमा उभियो भने

त्यो झन खुंखार विद्रोही हो

 

यदि कुनै सज्जन मान्छे

कानुनका दफा दफामा जिप्टीसकेपछि

यो सत्ताको  कानुनका दुवै आँखा अन्धा छ्न भनेर

पिचास हाँसीरहेको डरलाग्दो रातमा

हातमा टर्च बालेर

न्यायलयको ढोका ढकढक्याउन आईपुग्यो भने

त्यो टर्चको आँखाबाट निस्किरहेको तेजस्वी प्रकाश

विद्रोहीका एकजोर आँखा जस्तै सपाट र सफा हुन्छ

 

महासय !

तिमिले मरेको घोषणा गरिसकेपछी पनि

मसानघाटको चितामा जलेर

खाग बनेको खरानिको धब्बाबाट

आफू जिउँदै भएको ऎलान गर्दै

एक लप्का चिन्गारी उड्यो भने

सम्झनुहोस,

त्यो पनि खुंखार विद्रोही हो

विद्रोहीको श्वासनलिमा कहिल्यै नमर्ने गरि

विचारको सर्जरी गरिएको हुन्छ ।