कर्नालीका किसान, आम्दानीको नयाँ आयामतिर

जीविकोपार्जनका प्रयासहरु हाल आएर हाम्रो जीवनका अभिन्न अङ्ग बनेका छन् । यसमा समय सापेक्ष सुधार गर्न सकेमा पनि जीवनका नयाँ नयाँ आयामहरु थपिएर नयाँ अवसरहरु देखा परेका छन् र पर्ने सम्भावना धेरै रहेको

१८ असोज २०७५, हुम्ला || पर्माकल्चर दर्शनको शाब्दिक अर्थ नै परम्परागत ज्ञान, प्राकृतिक पद्धति र वैज्ञानिक कुराहरुको संयोजन गर्नु गराउनु हो । यसैले हाम्रो जीवनका विविध पक्षहरुलाई बनाउनका लागि गरिने अनेकौं कुराहरुको प्रयोग गर्नु नै स्थायी संस्कृतिको सबल पक्षको अबलम्बन गरी आत्मनिर्भर बन्नु र बनाउनु हो ।

हाम्रो गाउँघरका किसानहरुले शदियौंदेखि जानी नजानी प्रयोगमा ल्याएका र गरेका विभिन्न प्रकारका जीविकोपार्जनका प्रयासहरु हाल आएर हाम्रो जीवनका अभिन्न अङ्ग बनेका छन् । यसमा समय सापेक्ष सुधार गर्न सकेमा पनि जीवनका नयाँ नयाँ आयामहरु थपिएर नयाँ अवसरहरु देखा परेका छन् र पर्ने सम्भावना धेरै रहेको छ । यस्ता विधि विधान प्रयोग गर्ने नेपाली किसानहरु लाखौं छन् । तर यहाँ हुम्लाका केही प्रतिनिधि किसानहरुको सफलताको कुराहरुको अति संक्षिप्त जानकारी दिने प्रयास गरिएको छ ।

नुर्बु लामा वर्ष ४१, खगालागाउँ — खगालगाउँ गाविस वडा नं १, जाड खोल्सी गाउँका ४८ वर्षका नुर्बु लामा शारीरिक रुपमा न त बोल्न सक्छन्, न त सुन्न नै तर उनी मानसिक रुपमा सक्षम छन् । उनले पानीसँग मीतेरी गाँसेको लगभग चार दशक भएको छ । त्यसैले उनी गाउँका नाम चलेका घट्ट व्यवसायका अगुवा अर्थात् स्रोत व्यक्ति हुन् । उनको पुख्र्यौली सम्पत्तिको रुपमा प्रयोगमा आएको परम्परागत घट्ट आजभोलि सुधारिएको भएको छ । यसबाट उलने राम्रो आम्दानी लिन सफल भएर नै सात जनाको परिवारले राम्रोसँग पाल्न सफल भएका छन् ।

श्रीनगर गाविस सिप्टी गाउँका देवीशरण फडेरा — हुम्ला जिल्ला कै पहिलो मानव अधिकारकर्मी, कानुनका विद्यार्थी, शिक्षक, राजनीतिक कार्यकर्ता, पत्रकार हुँदै माओवादी जनयुद्धका न्यायिक कार्यकर्ता भएर पनि अनन्त कृषि पेशा अँगाल्न पुगे । र त आजभोलि त्यो भेगका नाम चलेका अगुवा किसानका रुपमा परिचित भएका छन् । विभिन्न जातका फलफुलका बिरुवा, अन्न, तरकारी, बीउ, आलु र अन्यबाट वर्षको तीन लाखभन्दा धेरै आम्दानी गर्नुको साथै कृषिसम्बन्धी तालिम पनि दिन थालेका छन् । आजभोलि उनको हातमा किसानको हाते किताब भने कहिल्यै छुट्दैन ।

स्याँडा गावि वडा नं ७ का सम्झाउनी बुढाले लसुनको खेती गरेर उनले परिवारको पालन पोषणमा सहयोग पुगेको छ । उनको लसुन सरदमुकाम सिमकोट मात्र नभै वरपरका धेरै गाउँहरुका पुग्छ । उनको बारीमा आजभोलि मौसमी र बेमौसमी तरकारी खेती पनि खाली हुँदैन ।

छिप्रा गाविस वडा नं १ छिप्रा गाउँकी ६२ वर्षकी देवसरा उपाध्यायले गाउँ नै पहिलो पटक रामतोरीया उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छन् । उनको बारीमा खुर्सानी, भण्टा, पिड्यालु, फर्सी, काँक्रो, मकै र अन्य फलफुल तथा तरकारीहरु उत्पादन गरिरहेकी छन् । उनले घर खर्चबाट बचेको रकम सिमकोटको एक नीजि बैंकमा दश हजार समेत जम्मा गर्न सफल भएकी छन् ।

जैर गाविस जैर गाउँका नन्ददेव रोकायाले अध्ययन अध्यापनको लागि काठमाडौंदेखि भारतका विभिन्न स्थानहरु चाहारेर पनि मन थाम्न नसकि गाउँमा नै फर्केर जिल्लामा नै पहिलो पटक साबुन उत्पादन गर्न सफल भएका छन् स्थानीय सामाग्रीहरुको प्रयोग गरेर । उनले प्रति गोटा ३० देखि ५० सम्म बिक्रि गर्ने गरेका छन् ।

ठेहे गाविस ठेहे गाउँका गोरासिं बोहरा मालेका वैकल्पिक केन्द्रीय सदस्य मात्र नभएर हुम्लाका एक अगुवा कृषि उद्यमी  पनि हुन् । उनले वनमा खेर गएको तारुचुकलाई संकलन गरी विगत पाँच वर्षमा तीह हजार लिटर तारुचुकको झोल उत्पादन गरेर राम्रो आम्दानी लिन सफल भएका छन् ।

बरगाउँ गाविस वडा नं ९ निमाटाङ्ग गाउँका निबासी नुर्बु सावेल लामाले जताततै छरिएर रहेका शिशाहरु संकलन गरी चर्पीको लागि सेफ्टी ट्याँकी तयार पारेका छन् । उनको सेफ्टी ट्याँकीमा चार हजारभन्दा धेरै शिशाका बोतलहरु प्रयोग भएको छ । सदरमुकाम सिमकोटमा शिशाहरुको आतङ्क चलेको बेला यो कुराले एकातिर कृषि तथा वातावरणीय सरसफाइमा सहयोग पुगेको छ भने अर्कातिर चर्पी निर्माणको महंगो खर्चमा कटौती भएको छ ।

दार्मा गाविस वडा नं २ गर्खा गाउँका धर्म बहादुर शाही कृषि प्राविधिक हुन् । उनले जिल्लामा नै पहिलो पटक हिउँदे आलु खेतीको गर्न सफल भएका छन् । यसबाट खेती प्रणालीलमा विविधकरण हुनुका साथै हिउँदमा खाली हुने जग्गाबाट आम्दानीको स्रोत बढ्ने सम्भावना देखिएको छ ।

सर्किदेऊ गाविस उनपानी गाउँका मन्जीत फडेराले वनमा खेर गएको अत्तिस बुटीलाई संकलन गरी खेतीका रुपमा प्रयोग गरेका छन् । जसबाट उनपानीको लेखको बस्ती गुँसा भन्ने ठाउँ अहिले अत्तिस खेतीको नमुना ठाउँमा जिल्लामा परिचित हुन थालेको छ । यहाँ उत्पादन भएको अत्तिसको बीउ कर्नाली अञ्चलका विभिन्न जिल्लाहरु र अन्यमा पनि माग बढ्दैछ भने अत्तिसको जरा राम्रो भाउमा बेचिन्छ ।

माथि उल्लेख गरिएका हुम्ला जिल्लामा यी प्रतिनिधि किसानहरु जस्तै धेरै गाउँमा धेरै प्रकारका सीप र प्रविधि प्रयोग गरेर आम्दानीका  गर्न सफल धेरै किसानहरुको सफलताको कथाको लेखा जोखा गर्न आवश्यक रहेको छ र भएको छ ।

पछिल्लो समयमा कृषि र अन्य क्षेत्रमा  आएको वातावरणीय अनुकूलनको लहरका लागि पनि रैथाने र स्थानीय प्रविधिको जानकारी, सुधार, प्रयोग र लेखाजोखा गर्न आवश्यक छ । यसैले कृषि पेशाबाट जीविकोपार्जन संस्कारबाट माथि उठेर आम्दानीका नयाँ आयामहरु पहिचान गर्न सकिनेछ । हाल हुम्लामा पनि कृषिबाट प्रति वर्ष लाखौं आम्दानी गर्न किसानहरु सफल भएका छन् ।

यसको श्रेय जिल्ला कृषि विकास कार्यालय, विभिन्न गैससहरु तथा सञ्चारकर्मीहरुले पस्केका कृषि समाचाहरुले पनि उत्साहित गर्नका सहयोग पुगेको छ । अझै किसानहरुको मनोबल बढाउनका लागि जैविक मल, बीउ, बीजन, औजार, सीप, प्रविधि, नीति नियम र आयात निर्यात र अन्य कुरामा सहयोग गर्नुका साथै प्रचार प्रसार गर्न आवश्यक छ । तर पनि हुम्लाको कृषि विकासको पुरानो ढाँचा नतिजा प्रदर्शन, तरिका प्रदर्शन गरेपछि सत प्रतिशत प्रर्दशन गरेर लक्ष्य पुरा भएको मान्ने प्रवृतिको अन्त्य हुनु पर्छ ।