शान्ति पत्रकारिता : सद्भाव, सुशासन र द्वन्द्व न्यूनीकरणको सहयोगी

१८ असोज २०७५, हुम्ला || “तिमी शान्ति चाहन्छौ भने युद्ध बुझ्”  शान्तिका लागि गरिने पत्रकारिता नै शान्ति पत्रकारिता हो । यसले कलह, झगडा, द्वन्द्व, इष्र्या, वैमनस्यता, लडाईँ तथा युद्धलाई शान्तिमा रुपान्तरण गरी जीउधन तथा मानवीय र भौतिक क्षतिलाई कम गर्ने काम गर्दछ । यो उल्टो पीरामिड शैलीमा लेखिदैन । यो समाधानमुखी तथा स्वस्थ पत्रकारिता हो ।

“द्वन्द्व जीवन हो जीवन द्वन्द्व हो । यसैले द्वन्द्व सधैंभरि विनासकारी हुँदैन, राजनीतिक प्रणालीमा हुने बहुदलीय प्रतिस्पर्धामा पनि द्वन्द्वकै एउटा रुप हो । द्वन्द्वले कुनै पनि प्रणालीमा सुधार ल्याउन समेत मद्दत गर्दछ शान्ति पत्रकारिताका पिता तथा प्रसिद्ध द्वन्द्वविद् जोन गाल्टुङ ।”

प्रो. जोन गाल्टुङ र शान्ति पत्रकारिता : शान्ति पत्रकारिताको नामाकरण तथा प्रयोग गर्ने प्रथम व्यक्ति प्रोफेसर जोन गाल्टुङ हुन् । उनले सन् १९७० मा यो शान्ति पत्रकारिताको नयाँ शुरुवात गरेका हुन् । यिनको जन्म सन् १९३० को अक्टुवर २४ मा नर्वेको ओस्लोमा भएको हो ।

“…बढ्दो हिंसात्मक द्वन्द्वले शान्ति पत्रकारिताको नयाँ धारलाई जन्माएको हो । शान्ति पत्रकारिताले शान्तिको प्रवद्र्धनमा जोड दिन्छ र द्वन्द्वलाई मत्थर पार्न वा निमिट्यान्न पार्न सघाउँछ । यसले पत्रकारितालाई शान्तिको पक्षमा र युद्धको विरोधमा उभिन सिकाउँछ…(ह्स्त गुरुङ, प्रकाशकीय, शान्तिका लागि पत्रकारिता अवधारणा र अध्यास सन् २००४)।”

नेपालमा पनि आर्थिक तथा राजनीतिक रुपमा आमुल परिवर्तन गर्नका लागि माओवादीले सशस्त्र जनयुद्धको थालनी वि.सं. २०५२ साल फाल्गुन २ गतेबाट शुरुवात गरे । यो करिब एक दशकसम्म चल्यो र अनन्त यो शान्ति रुपान्तरण भएको हो ।

के हो शान्ति पत्रकारिता ? शान्तिका लागि गरिने पत्रकारिता नै शान्ति पत्रकारिता हो । यसले कलह, झगडा, द्वन्द्व, इष्र्या, वैमनस्यता, लडाँईँ, युद्ध र विद्रोह जस्ता नकरात्मक कुराहरुको न्यूनीकरणलाई सकरात्मकतारित उन्मुख गर्दै शान्तिमा रुपान्तरण गर्ने काम हो ।

यसको प्रयोगबाट सामाजिक, आर्थिक, साँस्कृतिक, भौतिक तथा प्राकृतिक असमानताको खाडललाई शान्तिपूर्ण माध्यमबाट कम क्षति गर्ने काममा सहयोग गर्छ । समाचार उल्टो पिरामिड शैलीमा लेखिन्छ भने शान्ति पत्रकारिताको लीड सुल्टो पिरामीड शैलीबाट शुरु गरिन्छ । यसलाई स्वस्थ्य पत्रकारिता, समाधानमुखी पत्रकारिता, सहजीकरण पत्रकारिता, पहल पत्रकारिता, रुपान्तरण पत्रकारिता जस्ता नामहरु दिइएको छ । द्वन्द्व प्रगतीशील समाजको एक अभिन्न अंग हो । यसैले द्वन्द्वलाई सकरात्मक रुपमा लिन सकेमा एक नयाँ राजमार्गको शुरुवात गर्छ तर यो नकरात्मक रुपमा गयो भने मानव सभ्यताको प्रलयकारी विनास हुन्छ । यसैले समयमै द्वन्द्वको व्यवस्थापन,रुपान्तरण तथा निराकरण गर्न अति आवश्यक छ ।

शान्ति पत्रकारिताले समाजमा भएका अनेकौं प्रकारका द्वन्द्व, हिंसा, कलह, युद्ध, विद्रोह तथा यस्तै प्रकारका सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक तथा राजनीतिक असमझदारीहरुलाई रुपान्तरण गरि समाजमा शान्ति स्थापना गर्न सघाउ पु–्याउने काममा सहयोग गर्ने एक सशक्त काम नै शान्ति पत्रकारिता हो ।

नेपालमा चलेको जनयुद्धपछि नै हिंसा, युद्ध र शान्तिका बारेमा व्यापक चर्चा हुनथाल्यो । यी शब्दहरु सञ्चार माध्यममा व्यापक रुपमा चलनचल्ती आउन थाले । जनयुद्धकालको प्रारम्भिक चरणमा द्वन्द्व, हिंसा, कलह, युद्ध, विद्रोहलाई सामान्य अर्थमा लिने गरिए पनि केहि वर्षको अन्तरालमा यी शब्दहरुसँगै शान्ति शब्दको जहाँतँही प्रयोग हुन थाल्यो । कसैका लागि यी शब्दहरु मुक्तिको अर्थसँग जोडिएर आए भने कसैका लागि यी शब्दहरु मानसिक दवावका अर्थिन थाले । त्यसैले यी शब्दहरुको अर्थ परिभाषा तथा प्रयोग पक्षगत रुपमा हुनथाले । यसैले पनि नेपाली सञ्चार माध्यममा पनि शान्ति पत्रिकारिताको प्रयोग पनि एक नयाँ आयामका रुपमा हुन थाल्यो ।

हुम्लामा पनि जानी नजानी हुम्लाका पत्रकारहरुको सानो समुह जसमा कर्ण बहादुर रोकाया, रमेश ऐडी र गोकुल बुढाको समुहले शुरुवातमा थाहा नभएर पनि शान्ति पत्रकारिताको काम गरेर जिल्ला समन्वय तथा सहजीकरण समितिको माध्यमबाट नेपालमा शुरु भएको द्वन्द्व, हिंसा, कलह, युद्ध, विद्रोह र वैमीयताको अवस्थालाई केही मात्रामा भए पनि कम गर्ने काम गरेको छन् । यसैको परिणाम स्वरुप विकासे र अन्य काममा केही सहयोग पुगको रमेश ऐडीको अनुभव रहेको छ ।

गौतम बुद्ध जन्मेको देश नेपालमा शान्तिप्रीय नेपालीहरुको बास छ र त यहाँ अवश्य पनि नयाँ नेपालका लागि नयाँ विचार, नयाँ सोच तथा नयाँ परिभाषा सहितको शान्ति हुन्नुपर्छ ।