च्याफुक : चक्रवती पहराको आत्ममा रिन्छेन जाङपोको स्मृति

विभिन्न प्रकारका छोर्तेनहरु छन् । गुफाहरु छन् । एक एक इतिहास छ । एक एक समयको गाथा छ, कथा छ, व्यथा छ र छ समयको एक कल्प कल्पान्तरको नियमित रुपरेखा छ ।

२० असोज २०७५, हुम्ला ।। अलौकिक, अद्भूत, अनौठो र अचम्मको संरचनाको एक अनुपम नमुना नै च्या फुक अर्थात खण्डहरमा अवस्थित छ । यो गुफाको निर्माण एघारौं शताब्दिका महान अनुवादक तथा यात्री रिन्छेन जाङपाले स्थापना गरेको तपोस्थल होयो ।

चक्रवर्ती पहराको काखमा अद्भूत छ । तलतिर रौं नै खस्लाजस्ता पहराहरु माथि नागका फणाहरुले डस्न लागेका झैं चुचुराहरुरको बीच भागमा मानवता र वीरताको एक प्रतीकात्मक भाषा कोरिएकोेछ । जहाँ वसेर ध्यानमग्न भिक्षुभिक्षुणीहरुले आफु र आफ्नो आत्मीय मनोभावहरुलाई थाती राखी उच्च आकांक्षाले  अलौकिक शक्ति प्राप्त गर्नेे स्थल नै च्याफुक हो ।

जहाँ सजीवताका लागि चाहिने न्युनतम कुराहरु पानी, आवास र गाँसको यथासम्भव व्यवस्थाको समायोजन गरिएको छ । यहाँ ११ औं शताब्दिको एक अतित हेर्न पाइन्छ । त्यहाँ कास्मिरी कलाको अद्भूत नमुना प्रस्तुत भएकोछ । विभिन्न प्रकारका छोर्तेनहरु छन् । गुफाहरु छन् । एक एक इतिहास छ । एक एक समयको गाथा छ, कथा छ, व्यथा छ र छ समयको एक कल्प कल्पान्तरको नियमित रुपरेखा छ ।

यो गुफामा जसले ध्यान गर्छ, त्यसले सिधै अलौकि र परलौकिक समाधि प्राप्त गर्छन् भन्ने भनाई रहेको छ । तर वर्तमानमा आएर यो ठाउँको लेखाजोखा भने भएको छैन । यदि यसको खोजी भएमा नेपालको उत्तरी भेकको पर्यटन व्यवसायमा एक आयाम थपिने कुरा भने निर्विवाद रहेको छ । यसैले यसको खोजी अति आवश्यक छ ।