कर्नालीमा चीट आपूर्ति गर्ने नाथुरामहरू

कर्णबहादुर रोकाया

२० असोज २०७५, हुम्ला ||

८ पी.एच.को फ्लोराइडयुक्त दाँतले

ङिच्च हाँस्छ हुम्ला

चामलको बोरामा चुलिएको विकास

वस्तुविनिमय गरेर

कुन्तरे दाईको दाउराको भारीसँग

थाकेको छ ! थाकेको छ त्यो बुढो ?

धुपीको रुख !

हेर्दा हेर्दै कुप्रीएर ढाडहरू

कोर्दा कोर्दै खस्न थाले केसहरू

छ्या !

दुगन्र्धयुक्त खैरेना दाँत यी सिमकोटीहरूका

गोड्दा गोड्दै रक्सीको भेलले डुबेर

रक्सीमय भएको छ–जग्गा !

चुकिलो चुकिलो शिक्षाको अनुहार

घ्याम्पे भुँडीले खाएर गुरुको शब्द सुमन

अक्षरहरू

दोचा दोफर कुहाएर जङघारमा

किताब, कापी र झोलाहरू बेचेर

७ करोड निलेर अघाएको छैन

चीट चीटको खात आपूर्ति गर्ने नाथुरामहरू

गान्धी जन्मेलान् भन्ने डरले

मुन्टा नै चिमोटिदिन्छन् पुतनाहरूले

मुखभरि सूर्ती चपाएर पीच्च थुक्नेहरू

ओशो तपोवनमा ध्यान मग्न छन्

तर

झुप्रे धामी र पाटकलीको दाम्पत्य जीवन

शिशाका टुक्रा झैं भयो टुक्रा

राडी ऊन नगाँसिए झैं

किन कोर्दैछन् हँ ? समाचार !

यी पत्रकारहरू ?

मात्रै चामल र चामलको रैबार

के अरु कुनै समाचार छैन र ?

यो हुम्लामा !

मात्र चामल ! !