ताक्लाकोटमा पसिना चुहाउँछन् लिम्यालहरू

२१ असोज २०७५, हुम्ला ।। गाउँका विकास र निकास नहुँदा लिमी गाउँ विकास समितिका युवायुवती र अन्यहरु बिहान बेलुकाको छाकको जोहो गर्न प्रति वर्ष करीब सात महिना तिब्बती पठारमा पसिना चुहाउँन बाध्य भएका छन् ।

लिमी गाविसको तीन गाउँमा २ सय १६ घरधुरी रहेकोछ । यसमध्ये सबै घरका न्युनतमा एक जना अनिवार्य रुपमा प्रत्येक वर्षको जेठदेखि मङ्सिरसम्म विभिन्न प्रकारको व्यापार व्यवसाय, विभिन्न प्रकारको श्रममुलक कामहरु गरेर हिउँदको लागि आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको हल्जी गाउँका पाल्जोर लामाले बताए ।

चीनको ताक्लाकोटमा विभिन्न प्रकारक कामहरु गरेर गाउँ गाउँका मानिसहरुले सामुहिक रुपमा एक पटकमा करीब १० देखि २५ गाडी रिजर्भ गरेर सामानहरु ल्याउने गरेको जानकारी स्थलगत रुपमा थाहा भएको छ । 

लिमीमा यो वर्ष तील, हल्जी र जाङ गाउँका तीन गाउँलेहरुले करीब एक सय ट्क सामान लिमीमा ल्याएका छन् । यसमा ९९ प्रतिशत हिउँदका विभिन्न प्रकारका खाद्यान्न, तेल, घीउ, चिया, लुगाहरु रहेका छन् भने एक प्रतिशत व्यापारीक सामान रहेको देखिन्छ ।

ताक्लाकोटमा चीनियाँ नोट र चीनियाँ दरभाउ चल्ने भएकोले लिमी गाउँमा पनि कुनै पनि काम गर्न जिल्ला सदरमुकाम सिमकोटभन्दा दोब्बर र तेब्बर रकम लाग्ने जिल्ला खानेपानीका प्राविधि गोर्खे रोकायाले बताए ।

लिमीमा प्रति दिन साधाराण कामको लागि एक सय सिकुर अर्थात् चाइनिज पैंशा दिनुपर्छ । जबकी नेपाली १७ सय हुन्छ । यसरी लिम्यालहरुले ताक्लाकोट लगायत आसपासका गाउँहरुका पेन्टीङ्ग गर्ने, खेतबारी, सामान लोडअनलोड गर्ने, होेटल व्यवसाय तथा अन्य कामहरु गरेर मासिक रुपमा करीब एक लाखदेखि पाँच लाखसम्म कमाउने गरे पनि सबै रकमहरु हिउँदमा घरमा चाहिने सामान किन्नमा ठिक्क हुने लिम्यालहरुको एकमत रहेको छ ।

चीनको तिब्बती पठारका काम गर्दा विभिन्न प्रकारका कानुनी तथा व्यवहारीक समस्या आउने गरे पनि सरकारको तर्फबाट यस्ता समस्याहरुको समाधानका लागि कुनै चासो देखाएको छैन ।