सांस्कृतिक सङ्ग्राहलयको सप्तरङ्गी इन्द्रेणी हो हुम्ला

२१ असोज २०७५, हुम्ला ।। हुम्ला जिल्ला अनेकतामा एकता र एकतामा अनेकताको विविधतामा रमाएको सांस्कृतिक संग्राहलय हो । यहाँ हिन्दु, बुद्ध, बोन र प्राकृतिक धर्मको समायोजन भएको छ । यसैले यहाँको साँस्कृतिक अवयवहरुमा एकातिर साँस्कृतिक आत्मीकरणको प्रभाब रहेको छ भने अर्काेतिर सांस्कृतिक सम्मीलन अर्थात परसंस्कृतिकरणको छाँया परेको छ । जसका कारण जातीय, मानवीय, भाषिक तथा नृतात्विक रुपमा शुद्ध कुराहरु पाउन कठिन छ ।

रक्त सम्बन्ध, नाता सम्बन्ध, भौगोलिक संस्कार तथा सांस्कृतिक समायोजनको संघुलन नै हुम्ली समाजको विशेषता हो । यसैले एक ठाउँको रोकाया क्षेत्री अर्को ठाउँका जनजाति भएको छ । एक ठाउँको भोट अर्काे ठाउँको बाहुन बनेको छ । एक ठाउँको दलीत अर्को ठाउँको क्षेत्री बनेका उदाहरणहरुले पनि यहाँको साँस्कृतिक अवस्था एकल नभई संघीय अर्थात् मिश्रित भएको पाइएको छ ।

सांस्कृतिक क्रियाकलापहरुमा हिन्दु जातीका थरमा गोत्र ग्रहण गरिएको छ भने बौद्ध धर्मका धार्मिक संस्कारहरु अँगालिएको पाइन्छ । जन्म विवाह र मृत्यमा बाहुन र लामा दुबैको पुरोहित्याइँ चल्छ । यहाँका वेशभुषा र आभुषणहरुमा वक्खु, जिगेलो, फत्तु, दोचा, सुम्बा, कोट, भोटो, टोपी, गलबन्दी, लाक्पा, गावुन, चोलो, घाग्रो, काम्लो, बर्खो, बटली, तोची, मल्दुर, चक्री, ढुङ्ग्री, कन्नफुल, चेपाउ, जाल्या, बेरउट्या, कल्ली, चुणा, खँगालो, घिटयाँसी, भुगो, यूमाला, प्वाँलो, लडी, आलङ, गालङ, किबु, पोस्योल, कम्पनीमाला, कौडा, थाइकुर, आइकुर लगाउउँछन् । खानपानहरुमा थुक्पा, लगड, लाउन, सेल, लाप्सी, छयाँकोल, चिउला, च्याँउका, डुबुल्का, चुम्फे, कोल, भाट्या, बाबर, खाजा, मुरी आदि रहेका छन् । वन जगंलमा गएर तरुल, थकाइनो, मुगा, पिडालु आदि कन्दमुल कोरी उसिनेर खाइन्छ । जेठाँसी छरी खानु कात्तिके गोडी खानु भन्ने बालीनालीको  सुत्र तय गरेको छ ।

यहाँका चाडपर्वहरु पनि भाषिक, जातिगत, भौगोलिक , सामाजिक तथा अर्थतन्त्रसँग जोडिएर प्रचलित भएका छन् । नरनारी, अग्नि, माटो, पानी, हावा र जल पञ्च तत्वको पूजाआजाका साथै प्रकृति र संस्कृतिसँग जोडिएका कुराहरु प्रचलित छन् ।