स्याल्तडीको झुँगलो, बाबीयाको डोरो

२३ असोज २०७५, हुम्ला ।। लाग्छ जीवन जगत् नै संघर्षको एक दस्तावेज हो । यसैले जीवनका धेरै अध्यायहरु नै अलिखित पुस्तकको प्लट हो । यसको स्मरण र विस्मरणमा नै जीवनका यामआयामहरू, आरोहअवारोहरू तथा गन्थनमन्थनहरू समेटिएका हुन्छन् ।

यसैले पनि मानिसलाई जानी नजानी संघर्ष गर्न सिकाउँछ र उसले जानी नजानी यस्ता अनेकौं चुनौतिलाई स्वीकार गरी निवारण पनि गर्छ । यसैको एक नमुना हो कर्नाली नदीको नदी किनारमा रहेको विशेषयुक्त ठाउँ र गाउँ स्याल्तडी । यो ठाउँ हुम्ला कर्नाली नदीको पूर्वात्तर काखमा रहेको छ । यसको वरपर नदी छेउमा हुने पैंयु, बेडु, तिलखुरो, भाँगाबिलो, ऐसेलु, दारिम, चुत्रो, डिम्बर, खाँमु, केला, केतुकी, बाँज, बुँराउसले घेरेको र हेरेको छ । तर पनि यी सबै कुराहरूभन्दा पनि महत्वपूर्ण भनेको यहाँको बाबियोले पाएको छ । यहाँ प्रशस्त मात्रामा बाबियो हुने भएकाले घरदेखि वनसम्म विभिन्न प्रकारका कामहरूमा बाबियो प्रयोग हुने गरेको छ ।

यसमध्ये पनि यसैको काखमा रहेको स्याल्तडी भन्ने स्थानमा लगाइने बाबियोको झुँगलोले जिल्लामा नै प्रशिद्ध कमाएको छ । चाहे माघको मुटु खाने चिसो होस् कि साउनको मान्छे लिने भेल नै किन नहोस् । यहाँको बाबियो प्रयोग गरेर कर्नाली तर्ने परम्परागत सीप, प्रविधि, बाध्यता र अवसर अब त हराई सकेको छ । उक्त ठाउँमा बनेको पुलले तर पनि बाबियोको महत्व र प्रयोग भने घटेको छैन तर अब संरक्षणको खाँचो देखिएको छ ।